प्रधानमन्त्रीलाई भेट्न गए महन्थ ठाकुर, सरकारमा सहभागि हुने

राजनािति समाचार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्घाट गर्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो वालुवाटार गएका छन् ।

सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको जसपाले सरकारमा जाने विषयमै छलफल गर्न बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल शुरु भएको हो । यसका साथै जसपाका अन्य मागको बारेमा पनि छलफल हुने बताइएको छ ।

छलफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी छन् । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । स्रोतका अनुसार ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।

नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।

कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको बताइएको छ । आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरु बताउछन् ।

विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् । सरकारमा जाने ठाकुर पक्षको निर्णयकै कारण जसपाको फुटको अन्तिम विन्दुमा छ । नेता बाबुराम भट्टराईले मिल्न नसकिने भएकोले सल्लाह गरेर आफ्नो आफ्नो बाटो लाग्न आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *