ओरालो लाग्दै कोरोना संक्रमण:यो साता नेपालमा ५.७ प्रतिशतले घट्यो

समाचार

काठमाडौँ । नेपालमा कोरोनाको सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेको जानकारी दिइएको हो ।

इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गरिन् । पछिल्लो २४ घण्टामा सात हजार ९१४ सङ्क्रमित भेटिएका छन् । शनिबारको तुलनामा आइतबार भेटिएका सङ्क्रमितको सङ्ख्या कम हो । शनिबार आठ हजार ९८० सङ्क्रमित फेला परेका थिए ।

उनका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा सङ्क्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ । वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९. १ प्रतिशत सङ्क्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण दर फैलिएको छ ।

प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले सङ्क्रमण बढेको छ । प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ । उनले सङ्क्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने बताए ।

यस्तै जिल्लागत रूपमा ५० जिल्लामा सङ्क्रमणको दर व्यापक रुपमा फैलिएको उनको भनाइ छ । प्रतिलाख जनसङ्ख्यामा २७.८ जनामा दैनिक मानिसमा सङ्क्रमण छ । उनले गत वर्षभन्दा यस वर्ष तीन गुणाले सङ्क्रमणको दर फैलिएको जानकारी दिए ।

गत वर्ष असोजमा प्रतिदश लाख जनसङ्ख्यामा १३१.७ जनामा दैनिक सङ्क्रमणको दर रहेको थियो भने यसपटक जेठमा नै ३०७.६ जनामा सङ्क्रमणको दर रहेको उनको भनाइ छ । सङ्क्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरले बढेको पाइएको छ । गत वर्ष २५.२ प्रतिशतमा पोजेटिभ दर र यस वर्ष ४६.७ प्रतिशत छ । इपिडिमियोलोजिष्ट डा श्रेष्ठ सङ्क्रमणबाट निधन हुने गत वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिए ।

उनका अनुसार यस वर्ष सङ्क्रमितमध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको भएको थियो । अहिले हरेक उमेर समूहमा सङ्क्रमणको कारणले मृ,त्युदर बढिरहेको उनको भनाइ छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा सङ्क्रमणको जोखिम रहेको बताए ।

उनका अनुसार काठमाडौँ, रुपन्देही, ललितपुर, बाँके, भक्तपुर, मोरङ, कास्की, कैलाली, दाङ र चितवन रहेका छन् । उनका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण घट्दै र उपत्यका बाहिर बढ्दै गएको छ । सबभन्दा चैत अन्तिम सातादेखि जेठको पहिलो हप्तासम्म सबभन्दा दु्रत गतिमा सङ्क्रमण बढेको बताए ।

यो पनि पढ्नुहोस्  :त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनमा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।

परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।

हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन ।

यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ । मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ ।

गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।

परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले स्पष्ट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *